हेटौंडामा भ्यूटावर सहितको १३ तले भवन बन्दै

मंसिर २०, २०७८ | हेटौंडा

बाग्मती प्रदेशको राजधानी हेटौंडामा १३ तलाको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण हुने भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ४७ करोड ९३ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गर्न लागेको हो । 

भवन निर्माणका लागि उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महतको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक ऋषिराज बानियाँले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा लामा–रसुवा–बानियाँ जेभीले ठेक्का लिएको हो । हेटौंडा उपमहानगरपालिका–४ हुप्राको चौरमा निर्माण गरिने सो भवनको दुई तला अण्डरग्राउण्ड पार्किङ रहेको छ । 

चारतिरबाट लिफ्ट, दुई वटा भर्‍याङ, सबै भन्दामाथि भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताउनुभयो । एक बिघा ६ कठ्ठा जमिनमा निर्माण हुने सो सपिङ महलमा सिनेमा हल, मिटिङ सभाहलको साथै सबै भन्दामाथि भ्यूटावर निर्माण हुने उहाँले बताउनुभयो । 

सो व्यापारिक भवन तीन वर्ष भित्रमा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरेको छ । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्ने लामा–रसुवा–बानियाँ जेभीका सञ्चालक बानियाँले प्रतिवद्धता जनाउनुभयो । 

हेटौंडामा अहिलेसम्म ७ तलाको भवन मात्र निर्माण भएको छ । १३ तले भवन यो पहिलो हुनेछ । हेटौंडा उपमहानगपालिका हेटौंडाको बसपार्कमा टर्मिनल भवन र थाना भर्‍याङमा थोक बजार निर्माण गरिरहेको छ ।


प्रतिक्रिया