वीरगञ्ज भन्सार नाकामै थन्किए नयाँ सवारी

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा भारत तथा तेश्रो मुलुकबाट आयात गरी थन्किएका सवारी साधन । तस्बिर: शंकर आचार्य/रेडियो कान्तिपुर ।  

मंसिर १७, २०७९ | पर्सा

वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी परिसरमा अत्यधिक मात्रामा सवारी साधन थन्किएपछि पार्किङ्गको समस्या भएको छ । आयातकर्ताले जाँचपास गराई नलग्दा वीरगञ्ज भन्सार नाकामा ठूलो संख्यामा नयाँ सवारी साधन थन्किएकाले पार्किङ्गको समस्या भएको हो । 

हाल चौकी परिसरमा ५ सय २४ नया जिप, कार, भ्यान र १ हजार ३ सय ८ बस ट्रकका चेसिस गरी १ हजार ८ सय ३२ नयाँ सवारी साधन छन् । आइसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेशन इन्जार्च जितेन्द्र रसाइलीले सवारी साधन आयातकर्ताले पुरानै एलसीबाट भारत तथा तेश्रो मुलुकबाट आयातित सवारी साधन भन्सार परिसरमा ल्याएर पार्किङ्ग गरी राख्ने गरेको बताउनुभयो ।

आइसीपीको अधिकांश भाग नयाँ सवारी साधनले भरिभराउ छन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले भन्सारमा अड्किएका सवारी साधनको निकासको सम्बन्धमा मंगलबार सरोकारवालाहरुबीचको बैठक पनि निष्कर्षविहीन रहेको बताउनुभयो । 

वीरगञ्ज भन्सार कार्यालयको आयोजना र इन्टर मोडल यातायात विकास समितिको समन्वयमा आयोजित बैठकमा यो नाकाबाट सवारी साधन आयात गर्ने मुख्य आयातकर्ता सिप्रदी, लक्ष्मी क्लियरिंग, टोयोटा, आइएमई मोटर्स लगायतका प्रतिनिधि तथा भन्सार र इन्टर मोडलका अधिकारी समेत सहभागी थिए ।

बैठकमा सवारी साधन आयातकर्ता कम्पनीका प्रतिनिधिले हालको अवस्थामा आफूहरुले वीरगञ्जमा रहेका सवारी साधन जाँचपास गराएर लैजान असक्षम रहेको बताएको सुवेदीले जानकारी दिनुभयो । 

‘आयातकर्ताले बैंकले अटो लोन नदिंदा नयाँ सवारी साधनको खरिद बिक्रीनै ठप्प भएकाले तत्काललाई सवारी साधन छुटाएर काठमाडौं वा अन्य गन्तव्यसम्म लैजान असमर्थता जाहेर गरेका छन्,’ उहाँले भन्नुभयो, ‘कतिपय आयातकर्ताले वीरगञ्जबाट सवारी साधन जाचपास गराएर लगरे काठमाडौंमा भाडाको गोदाम राख्नु भन्दा यहा पार्किङ्ग शुल्क तिरेरै राख्न लागत कम पर्ने भएकाले पनि यही राखेका छन् ।’ 

मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने भन्सारको रुपमा चिनिने वीरगञ्ज भन्सार कार्यालयले पछिल्ला महिनाहरुमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकेको छैन । यो भन्सारको राजश्वमा सर्वाधिक योगदान नया सवारी साधन र इन्धनको हुने गरेको छ । तर, नयाँ सवारी साधन जाँचपास हुनै छाडेपछि त्यसको असर राजश्व असूलीमा पनि देखिएको हो ।


प्रतिक्रिया