पूर्वका किसान विचौलियाको मुल्यमा धान बेच्न बाध्य

पुस ५, २०७९ | विराटनगर

सरकारले समर्थन मूल्य तोकेपनि सम्बन्धीत निकायले समयमा धान खरिद नगर्दा पूर्वका किसान आफनो उत्पादन विचौलियाले तेकेको मूल्यमा विक्री गर्न बाध्य भएका छन् । सरकारले कार्तिक दोस्रो साता मोटा धान प्रति क्वीन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्वीन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको थियो ।

सरकारी निकायले उक्त मूल्यमा धान खरिद नगर्दा किसान मोटा धान राधा १२ प्रति क्वीन्टले २ हजार ६ सय ५०, मध्यममा पर्ने कान्छी वास २ हजार ५ सय ५० र रन्जीत मन्सुली प्रति क्वीन्टले २ हजार ९ सयमा विक्री गर्न बाध्य हुँदै आएका छन ।

मिल सञ्चालक र व्यापारीको भेलाले धानको माग र आपूर्तिका आधारमा मूल्य निर्धारण गर्ने गरेको उद्योग वाणिज्य महासंघ प्रदेश १ का कृषि संयोजक श्रवण अग्रवालको भनाई छ । सीमावर्ती क्षेत्रको वजार मूल्य र माग अनि आपूर्तिको अवस्थालाई हेरेर धान लगायत कृषि उपजको मूल्य परम्परा देखि नै मिलधनी र व्यापारीले नै तोक्दै आएका छन । अग्रवालले अहिले उपलब्ध हुने धानमा कम्तीमा १६ प्रतिशत भुस हुने गरेकाले मूल्याङकन कम हुनु स्वाभिक भएको बताउनुभयो ।

धान मिल र व्यापारीले तोकेको मूल्यलाई यहाँको व्यापार संघले सार्वजनीक गर्ने र त्यही मूल्य मोरङ, सुनसरी र झापामा लागू हुँदै आएको संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीको भनाई छ । उहाँले मिल मालिक र व्यापारीले तोकेको मूल्य नै परम्परा देखि नै अन्तिम हुँदै आएकाले सो मुल्यलाई प्रदेश सरकार र स्थानीय प्रशासनले पनि मान्यता दिदै आएबताउनुभयो ।

यसैवीच प्रदेश १ मा गतवर्षको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि भएपनि सिजनमै भारतवाट धान आयात रोकिएको छैन । विराटनगर भन्सारको तथ्याङक अनुसार जोगवनी नाकावाट मंसिरमा १६ करोड ९३ लाख १५ हजार मूल्यको ४ हजार ८ सय ५१ टन र कार्तिकमा ९५ लाख ९२ हजार मूल्यको ३ सय २३ टन धान आयात भएको छ ।

प्रदेश १ मा गतवर्षको भन्दा यसवर्ष १६ हजार २ सय ८२ टन धान बढी फलेको प्रदेश १ कृषि निर्देशनालयको तथ्याङक छ ।  


प्रतिक्रिया