‘अरुणमा तेस्रो जलविद्युत आयोजनाको बाँध फुट्ने खतरा छैन’

वैशाख २१, २०८० | संखुवासभा

जिल्ला विपत् व्यवस्थापन समिति संखुवासभाले अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध फुट्ने अवस्था नरहेको बताएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित अरुण नदीमा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी शीवकुमार कार्कीले अरुण तेस्रोमा बनेको १६ मिटर अग्लो बाँध फुट्ने अवस्थामा नरहेको बताउनु भएको हो ।

निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलमा गत आईतबार पहिरो खसेपछि झण्डै ३ किलोमिटर ताल बनेको छ । नदीमा पानीको बहाब बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयले गरेपछि विपत् व्यवस्थापन समितिले अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारी कार्कीले जोखिम पूर्ण अवस्था नरहेकाले नआत्तिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

अरुण तेश्रो आयोजनाले २६ मिटर अग्लो अस्याथी बाँध बनाएर नदी फर्काएको थियो । नदी थुनिएपछि जलविद्युत आयोजनामा ड्यामसाईडको काम ठप्प भएको छ । अझैपनि सुख्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया