आयातित कृषि उपजले स्वदेशी उद्योग धराशायी बन्दै

जेष्ठ ७, २०८० | ललितपुर

आयातित कृषि उपजले नेपालका कृषिमा आधारित अधिकांश उद्योग धराशायी बनेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल चामल तेल उद्योग संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि मुलुकमा भएका चामल, दाल, मैदा मिल र तेलका अधिकांश उद्योग धराशायी बनेको बताएको छ । संघका अनुसार नेपालमा संचालित ५० वटा दालका उद्योगमध्ये २५ वटा बन्द भएका छन् । त्यस्तै सयौंको संख्यामा रहेको मैदा मिल ३५ र तेल उत्पादन मिल २५ वटाको हाराहारीमा मात्रै संचालित रहेको संघले जनाएको छ ।

यस्तै, देशभरमा चामलको साना र ठूला गरी हजारौं उद्योग रहेकोमा हाल करिब ६०/७० वटा मात्रै संचालन छन् । विदेशबाट कृषि वस्तुको आयात हुने भएकाले स्वदेशका कृषिमा आधारित उद्योग धराशायीमा परेको संघका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो । गुप्ताका अनुसार नेपालमा अवैधानिक रुपमा अधिक मात्रामा खाने तेल लगायत तयारी वस्तु भित्रिने भएकाले पनि उद्योग बन्द भएका हुन् । अबको दिनमा स्वदेशी कृषि उपजको उत्पादन वृद्धि गर्न सरकारले ठोस कदम चाल्नु पर्ने संघले जनाएको छ ।


प्रतिक्रिया