त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

कार्तिक ४, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं र पर्यटकीय याम पनि शुरु भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको विमानस्थल कार्यालयले जनाएको छ । 

सामान्यतया: दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विमानस्थलमा पछिल्लो दुई दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान र अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार दशैंको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार यात्रु आवतजावत गरिरहेका छन् । 

उहांका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान संख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एक सय १० बढी अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । 


प्रतिक्रिया