नयाँ आर्थिक वर्ष आजदेखि सुरु

श्रावण १, २०८१

नयाँ आर्थिक वर्ष २०८१÷८२ आजदेखि सुरु भएको छ । निर्वतमान अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ मा संघीय संसदमा प्रस्तुत गर्नुभएको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट कार्यान्वयन आजदेखि हुन लागेको हो । सत्ता राजनीतिक परिवर्तन भएसँगै एउटा मन्त्रीले बजेट ल्याउने तर कार्यान्वयन अर्कै मन्त्रीले गर्ने प्रवृत्ति यो वर्ष पनि दाहोरिएको छ । 

गतवर्ष नेपाली कांग्रेसबाट डा. प्रकाशशरण महतले ल्याएको बजेट कार्यान्वयन गर्ने जिम्मा माओवादी केन्द्रका वर्षमान पुनले पाउनुभएको थियो । यो वर्षका लागि पुनले ल्याएको बजेट सत्ता परिवर्तनपछि एमालेका विष्णु पौडेलले कार्यान्वयन गर्दै हुनुहुन्छ । अर्थमन्त्री विष्णु पौडेलले यो वर्षको बजेट कार्यान्वयन प्रभावकारी बनाउने दाबी गरिरहँदा गत आर्थिक वर्षको बजेट भने सुस्त छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार मसान्तसम्म पुँजीगत खर्च ६३ प्रतिशतको हाराहारीमा मात्रै छ । यद्यपि, खाता मिलान भईनसकेकोले पुँजीगत खर्च कम देखिएको अर्थसचिव मधु मरासिनीले बताउनुभयो । गत वर्षमा ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि खर्च हुने नदेखिएपछि मध्यावधि समीक्षा मार्फत ५० अर्ब रुपैयाँ घटाएर २ खर्ब ५४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यद्यपि, सो रकम पनि पूर्ण रुपमा खर्च हुन सकेन ।


प्रतिक्रिया