पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेलमा ४ रुपैयाँ वृद्धि

आश्विन ३०, २०८१ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आजबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो । 

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक समितिको बैठकले भाउ बढाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५८ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५९ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५० रुपैयाँ र तेस्रो वर्गमा १ सय ५१ रुपैयाँ कायम भएको छ ।

निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । 

पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।


प्रतिक्रिया