मनहरीका दुग्ध किसानले महिनाको दुई पटक भुक्तानी पाउने

कार्तिक ३, २०८१ | मकवानपुर

मकवानपुरको मनहरी गाउँपालिकाका दुग्ध उत्पादक किसानले अब महिनाको दुई पटक भुक्तानी पाउने भएका छन् । किसानले उत्पादन गरेको दूध बिक्री बापत रकम समयमै नपाएर समस्या झेल्दै आएका किसानका लागि गाउँपालिकाले बजारको सुनिश्चितता गरेसँगै समयमै भुक्तानी पाउने भएका हुन् । 

गाउँपालिकाले हेटौंडा–१९, नेवारपानीस्थित हेटौंडा डेरी इण्डष्ट्रिज र दुग्ध उत्पादक सहकारीसँग सम्झौता गर्दै कात्तिक १ गतेबाट लागू हुने गरी किसानलाई महिनाको दुई पटक भुक्तानी दिने व्यवस्थाको सुरुवात गरिएको हो । 

मनहरी–८ मा रहेको साना किसान कृषि सहकारी संस्था र गाउँपालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीसँगको पटक–पटकको छलफल पश्चात् पालिकाले समयमै भुक्तानी गर्ने वातावरण तयार पारेको हो । 

यसअघि मनहरीका किसानले उत्पादन गरेको दूध जिल्ला दुग्ध उत्पादक सहकारी मार्फत बिक्री हुँदै आएको थियो । गाउँपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दूध खरिद गरी हेटौंडा डेरी इण्डष्ट्रिजलाई बिक्री गर्नेछ । उद्योगले प्रत्येक महिनाको दुई पटक किसानलाई दूधको भुक्तानी उपलब्ध गराउनेछ । 

मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अब दूधको भुक्तानीका लागि किसानले ४/५ महिना कुर्नुपर्ने अवस्थाको अन्त्य भएको दाबी गर्नुभयो । ‘दूधको भुक्तानी कहिले आउँछ भन्ने प्रश्नको अब हल भएको छ । पहिले जस्तो भुक्तानीका लागि अब ५/६ महिना कुर्नुपर्दैन । किसानलाई राहत दिलाउन हामी यो निर्णयमा पुगेका हौं’, कालाखेतीले भन्नुभयो, ‘दूध संकलन गर्ने सहकारीसँग विभिन्न चरणको छलफल गरेर यहा“सम्म आइपुगेका हौैँ ।’ सम्झौता बमोजिम समयमै भुक्तानी हुने भन्दै उहाँले त्यसो नभएमा पालिकाले जिम्मेवारी लिने बताउनुभयो ।

किसानले पाउनुपर्ने दूधको पुरानो बक्यौता समेत मंसिर १० गते भित्र भुक्तानी हुने उहाँले जानकारी दिनुभयो । पालिका उपाध्यक्ष सीता पुलामी मगरले समयमा भुक्तानी नपाउँदा किसानले धेरै समस्या झेल्नुपरेको जानकारी पश्चात् हेटौंडा डेरीसँग सहकार्य गरिएको बताउनुभयो । अझै केही किसानले ३ महिनादेखि भुक्तानी पाउन नसकेको जानकारी दिँदै उहाँले पालिकाले उद्योग र सम्बन्धित सहकारीसँग सम्झौता गरेको बताउनुभयो । 

उहाँका अनुसार मनहरीमा ६ वटा सहकारीले दूध बिक्री गर्दै आएको छ । ‘अब प्रत्येक किसानले १५÷१५ दिनमा भुक्तानी पाउनेछन् । महिनौंदेखि भुक्तानी नपाउने समस्या समाधान हुनेछ’, उपाध्यक्ष मगरले भन्नुभयो, ‘किसानको सहजताका लागि हामीले यो काम गरेका हौं । यसबाट उत्पादन समेत वृद्धि हुने विश्वास लिएका छौं ।’ 

मनहरी गाउँपालिकामा दैनिक ६ हजार ५ सयदेखि ७ हजार लिटरसम्म दूध उत्पादन हुँदै आएको छ । साना किसान सहकारीका अध्यक्ष विमला कार्कीले किसानले रकम भुक्तानीको समस्या वर्षौंदेखि झेल्दै आएको जानकारी दिँदै अब सहज हुने विश्वास व्यक्त गर्नुभयो । 


प्रतिक्रिया