आयल निगमले इन्धनको मूल्य फेरि बढायो

माघ १९, २०८१ | काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै गएरातिबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर ४/४ रुपैयाँ बढाएको जनाएको हो । 

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार नेपालमा इन्धनको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । 

मूल्य समायोजनपछि अब काठमाडौं पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ कायम गरिएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तोकिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा र डिजेल १ सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ । 

यस्तै, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ६६ रुपैयाँ र डिजेल लिटरको १ सय ५९ रुपैयाँ तोकिएको छ । यसअघि निगमले माघ २ गते राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३-३ रुपैयाँ बढाएको थियो । 

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ । 


प्रतिक्रिया