संखुवासभाका ५० सुनचाँदी व्यवसायीलाई डिजिटल बोर्ड
माघ २०, २०८२ | संखुवासभा
संखुवासभा सुनचाँदी व्यवसायी सङ्घले व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यसहित आज डिजिटल रेट बोर्ड वितरण गरेको छ । जिल्लाभरका ५० जना सुनचाँदी व्यवसायीहरूलाई सङ्घ मार्फत डिजिटल बोर्ड वितरण गरिएको हो ।
सुनचाँदी व्यवसायी सङ्घ, कोशी प्रदेशका अध्यक्ष रमेश रसाइलीले डिजिटल प्रविधिको प्रयोगले व्यवसायलाई पारदर्शी, विश्वासिलो र आधुनिक बनाउने बताउनुभयो ।
जिल्ला अध्यक्ष जनक पौडेलीका अनुसार डिजिटल बोर्ड खरिदका लागि सुनचाँदी व्यवसायीहरूबाट करिब ५ लाख रुपैयाँ सङ्कलन गरिएको थियो ।
बोर्ड खरिदमा खाँदबारी नगरपालिका–१ वडा कार्यालयले २५ प्रतिशत अनुदान सहयोग गरेको छ भने बाँकी रकम संखुवासभा सुनचाँदी व्यवसायी सङ्घले व्यवस्थापन गरेको हो ।
डिजिटल रेट बोर्डको प्रयोगले सुनचाँदीको दैनिक मूल्य सहज रूपमा सार्वजनिक हुने, ग्राहकमा विश्वास बढ्ने र व्यवसाय थप व्यवस्थित हुने उहाँको भनाई छ ।









