सप्तरीमा प्रत्यक्ष तर्फको गणना सकियो, मधेशवादीकै वर्चस्व

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०७४ | राजविराज

-   प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सप्तरी जिल्लामा मधेशवादी दलकै वर्चस्व कायम भएको छ । यद्धपि प्रदेश सभामा एमालेले पनि २ स्थान सुरक्षित गरेको छ । सोमवार बिहान सम्म प्रत्यक्ष तर्फको सबै गणना सकिएको छ । 

जिल्लाको चारवटा प्रतिनिधि सभा क्षेत्र मध्ये २ वटामा संघीय समाजवादी फोरम र एउटामा राजपाले जित निकाल्दै ३ क्षेत्र मधेशवादीको पोल्टामा पारेको छ । क्षेत्र नम्बर १ र २ वाट फोरमका सुर्यनारायण यादव र उपेन्द्र यादव तथा क्षेत्र नम्बर ३ मा राजपाका चन्द्रकान्त चौधरी विजय भएका छन् । यस्तै क्षेत्र नम्बर ४ को पुरानो क्षेत्रलाई नेपाली कांग्रेसका उम्मेदवारले सुरक्षित गरेको छ । यो क्षेत्रमा कांग्रेसका तेजुलाल चौधरी विजयी भए । 

यस्तै जिल्लामा रहेको कुल ८ वटा प्रादेशिक क्षेत्र मध्ये ३ वटामा राजपा र २ वटामा फोरमले जित निकाल्दै वर्चस्व कायम गरेको छ । क्षेत्र नम्बर १ को क मा राजपाका नवलकिसोर साह, २ ख मा मनिषकुमार सुमन र ३ ख मा बिदेश्वर यादव विजयी भएका हुन् । यस्तै फोरमका तर्फबाट क्षेत्र नम्बर २ क मा शैलेन्द्रप्रसाद साह र ४ ख मा अभिषेक यादव विजयी भए । प्रतिनिधि सभामा पनि एक स्थान सुरक्षित गरेको काग्रेसले क्षेत्र नम्बर ३ को क मा प्रदेश सभामा पनि जित निकाल्यो । उक्त क्षेत्रवाट काग्रेसका मो समिम विजयी भए । 

मधेश आन्दोलनको उदगम स्थल र एमालेलाई विगतमा बहिष्कार गर्ने राजनीति मधेशवादी दलका कार्यकर्ताले गरेपनि प्रादेशिक सभामा २ वटा क्षेत्रमा एमालेले जित निकालेको छ । क्षेत्र नम्बर १ को क मा एमालेका सत्यनारायण मण्डल र ४ क वाट गोबिन्द न्योपानेले जित हात पारेको छ । 

 


प्रतिक्रिया