समानुपातिकतर्फ ७७ लाख मतगणना हुँदा एमालेको अग्रता कायमै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २८, २०७४ | काठमाडौं

 - प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ ७७ लाख २५ हजार मतगणना सकिएको छ । हालसम्म नेकपा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । 

निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ४२ हजार ५ सय ६८, कांग्रेसले २५ लाख ५७ हजार ४ सय ८५, माओवादी केन्द्रले १० लाख ५३ हजार ४ सय ७८ मत ल्याएका छन् । माओवादी केन्द्रको समानुपातिक मतमा समाजवादी जनता पार्टी र जनजागरण पार्टीको पनि जोडिएको हो ।

निर्वाचनमा उनीहरुले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गरेका थिए । यस्तै संघीय समाजवादी फोरमको ३ लाख ५५ हजार २ सय ५४, राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख २ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ लाख ७५ हजार ९ सय ४७ मत पाएका छन् ।

विवेकशील साझाको १ लाख ७४ हजार १ सय ५९, नयाँ शक्तिको ६९ हजार ४ सय ३८, राप्रपा प्रजातान्त्रिकको ६४ हजार १४, नेपाल मजदुर किसान पार्टीको ५० हजार ४ सय ६७ र अन्य दलको २ लाख ८२ हजार ६ सय ५६ मत छ । प्रदेशसभा तर्फ पनि एमालेले अग्रता कायमै राखेको छ ।  

 


प्रतिक्रिया