लमजुङबाट १९ जना उम्मेदवारको जमानत जफत

रेडियो कान्तिपुर संवाददाता

मंसिर २८, २०७४ | लमजुङ

 - प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङबाट १९ जना उम्मेदवारको जमानत जफत भएको छ । एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्यको लागि २५ जना उम्मेदवार थिए । १९ जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका उनीहरुले १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो । वाम गठबन्धनका विजयी ३ जना र निकटतम प्रतिद्वन्दी कांग्रेसका ३ जनाले मात्रै जमानत जोगाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ १० राजनीतिक दल र १ स्वतन्त्र उम्मेदवारसहित ११ जना जनाको उम्मेदवारी थियो । प्रदेश (क) तर्फ ६ राजनीतिक दल र प्रदेश (ख) तर्फ ७ दल र एक स्वतन्त्रको गरी ८ जनाको उम्मेदवारी थियो । निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।


प्रतिक्रिया