किन गुमनाम थिइन विष्णु माझी ?

रेडियो कान्तिपुर संवाददाता

पुस २९, २०७५ | काठमाडौं

सेतो र रातै कलरको गलबन्दी अनि खैरो कोट र जिन्स पाइन्ट लगाएका एक पुरुष । उनीसँगै कालो रंगको लामो लुङ्गी, कालै कलरको ओभर कोट अनी पूरै टाउको छोप्ने गरी बेरिएको कालो पछ्यौराका साथमा कालै मास्क लगाएकी महिला । 

 

आइतवार स्याङ्जा प्रहरी प्रमुखको कार्यकक्ष खोज्दै दुवै जना प्रहरी कार्यालय पसे । अनुहार लुकाउँदै प्रवेश गरेका ती अरू कोही थिएनन्, लोकदोहोरीकी सुपरस्टार गायिका विष्णु माझी तथा उनका श्रीमान् सुन्दरमणि अधिकारी थिए । विष्णुको भूमिगत जस्तै जीवनका बारेमा सोधीखोजी हुन थालेपछि प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको निर्देशनमा जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालको खोजीपछि उनीहरू आइतबार अनौठो शैलीमा स्याङ्जा जिप्रकामा झुल्किएका हुन् । साप्ताहिकको गएको अंकमा यही विषयमा रहस्यमय गायिका शीर्षकमा कभर स्टोरी प्रकाशित भएको थियो ।

एसपी लम्सालले सुन्दरमणिलाई फोन गरेर विष्णुलाई स्याङ्जा जिप्रकामा ल्याउन र यदि नल्याए प्रहरी परिचालन गरेर भए पनि ल्याउँछु भनेपछि मात्र सुन्दरमणिले विष्णुलाई स्याङ्जा लिएर आएको बताइन्छ । उनीहरूसँगै विष्णुका दाइ बाबुराम, आमा धर्मकुमारी तथा पिता ताराबहादुर माझी पनि थिए ।

त्यसपछि विष्णु, सुन्दरमणि र विष्णुको परिवार एसपी लम्साल, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, प्रशासकीय अधिकृत यादवराज शर्मासँग छलफलमा बसे । श्रीमान् सुन्दरमणिका साथमा प्रहरीकहाँ आएकी विष्णुले श्रीमान्कै आडमा बसेर छलफलमा भाग लिएकी थिइन् । छलफलमा विष्णु कमै मात्र बोल्थिन भने प्रजिअ तथा एसपीको प्रश्नमा सुन्दरमणिले नै जवाफ दिन्थे । 

छलफलमा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको जानकारी गराए । ‘विष्णुजी त्यति खुल्नु भएन । गाउँले लवजमा केही जवाफ मात्र दिनुभयो,’ छलफलमा सहभागी एसपी लम्सालले भने, ‘सुन्दरमणिले अन्तरजातीय विवाहमा दुवै जनालाई छुटाउन खोजिएकाले गुमनाम जस्तै हुनुपरेको बताउनुभयो ।’ यतिमात्र होइन्, छलफलका क्रममा सुन्दरमणिले विष्णुबारेमा उठेका थुप्रै प्रश्नको जवाफ दिएका थिए ।

विष्णुको देश–विदेशमा हाइडिमाण्ड हुँदा पनि किन सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिएको भन्ने प्रश्नमा सुन्दमणिले कतिपयले विष्णुलाई मात्र विदेश लान्छौं भनेको तर विष्णुसँगै आफू पनि जान खोजेको तर नलगेपछि नगएको दाबी गरेका थिए । ‘मलाई कसैले लान मानेनन्, उनी सामान्य लेखपढ गरेकी केटी हुन् । बोल्न जान्दिनन्, लेख्न–पढ्न पनि जान्दिनन्,’ सुन्दरमणिको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘बाहिरी दुनियाँसँग फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिए त्यसैले उनलाई एक्लै पठाइन् ।’ 

विष्णुले पनि सुन्दरमणिको तर्कलाई समर्थन गर्दै बाहिरी दुनियाँका बारेमा आफूलाई केही थाहा नभएकाले श्रीमान्को सहारा लिनुपरेको प्रष्टीकरण दिएकी थिइन् । मिडियालाई आफूहरूले जवाफ दिन कुनै बाध्यता नरहेको भन्दै सुन्दरमणि छलफलकै क्रममा चर्किएका थिए । विष्णुका बाबुआमा भने त्यति बोलेनन् । दाइ बाबुरामले चाहिँ बहिनी विष्णुसँग बेला–बेलामा सम्पर्क हुने कुरा बताएका थिए । 

प्रजिअ तथा एसपीसँग समेत विष्णुले माक्स लगाएर कुरा गरेकी थिइन् । एसपी लम्सालले अनुहारप्रति शंका लाग्यो भन्दै माक्स र पछ्यौरा हटाउन लगाएका थिए । सधैं मास्क लगाउने र आफ्नो फेस सार्वजनिक नगर्ने विष्णुको अनुहारमा कुनै चोट, खत नभएको लम्सालले बताए । भूमिगत सरहको विष्णुको जीवनशैलीका बारेमा राखिएको चासोका सम्बन्धमा सुन्दरमणि आफूहरूको इच्छा भन्दै पन्छिका थिए । छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले मात्र दिएका थिए ।

विष्णु र सुन्दरमणि मिडियाबाट भागिरहन्थे । उनीहरूले फोटो खिच्नसमेत मानेका थिएनन् । पत्रकारहरू केही सोधपुछ गर्न नजिकिँदा सुन्दरमणि अघि–अघि र विष्णु पछि–पछि दौडन्थे । 

विष्णुकी आमा र बाबुलाई छोरा बाबुरामले ल्याएका थिए । काठमाडौंबाट बा२ज २०९२ नम्बरको ट्याक्सीमा आएका सुन्दरमणि–माझी दम्पती पत्रकारले प्रश्न सोध्न खोज्दा आफू आएको ट्याक्सी छोडेर स्याङ्जा– पोखरा चल्ने लु१ज ५३५२ नम्बरको कारमा हतार–हतार फर्किएका थिए । 

एघार वर्षपछि बाबु छोरीको भेट

सुन्दरमणि अधिकारीसँगको सम्बन्धपश्चात् गुमनाम भएकी लोक तथा दोहोरी गायिका विष्णु माझीको परिवारसँग ११ वर्ष पछिको भेटघाट पनि त्यही थियो । चापाकोट नगरपालिका–८ खोरियाघाट जन्मघर भएकी माझीले श्रीमान् सुन्दमणिसँग विवाह गरेपछि ५८ वर्षीय बाबु ताराबहादुर माझी, आमा धर्मकुमारी र दाइ बाबुरामलाई आक्कल–झुक्कल मात्र भेटेको बताइन्छ । 

आइतबार ताराबहादुरको छोरी भेट्ने सपना पनि पूरा भएको छ । प्रहरीले विष्णुको खोजी गरेर सम्पर्कमा आएपछि माइती पक्षलाई पनि बोलाएको थियो । प्रहरीको बीचमा छोरी भेटेका ताराबहादुर त्यतिबेला केही बोल्न सकेनन् । छोरीसँग भेट भए पनि उनले छुट्टै कुरा गर्न पाएनन् ।

आमा धर्मकुमारीले भने काठमाडौं नै गएर छोरी भेटेको कुरा बताएकी थिइन् । गाउँलेहरूका अनुसार विष्णुकी आमा दुई वर्ष पहिले काठमाडौं गएकी थिइन् । यद्यपि छलफलका क्रममा धर्मकुमारीले गत भदौमा काठमाडौं गएर छोरीसँग केही दिन बसेर फर्किएको बताइन् ।

विवाह अघि नै सुन्दरमणिले विष्णुलाई बन्धक बनाएको चर्चा चलेको थियो । चौतर्फी विरोध हुन थालेपछि उनीहरूले विवाह गरेको कुरा बाहिरियो । 

बिष्णुका दाइ बाबुरामले सुन्दरमणि र विष्णुको विवाहको टीका नफुकाएको स्वीकार गरेका छन् । प्रशासनसँगको छलफलका क्रममा विष्णुले आफूले हातमा मोबाइल लिए पनि आफ्नो नम्बर घरपरिवारभन्दा बाहिर कसैलाई जानकारी नभएको कुरा बताएकी थिइन् ।

- प्रतीक्षा काफ्ले | साभार : साप्ताहिक


प्रतिक्रिया