महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ती

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १८, २०७८

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौाको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

सयभन्दा बढी कृति छाडेर गएका देवकोटाले नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा चिनाउन समेत महत्वपुर्ण भुमिका निभाउनुभएको थियो । आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

देवकोटाले २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।


प्रतिक्रिया