निरु न्यौपानेको दुई कृति लोकार्पण

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७९

सर्जक निरु न्यौपानेको दुई कृति लोकार्पण गरिएको छ । काठमाडौंको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास  ‘अर्को अध्याय’ र गजल र ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो । कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देल लगायतको उपस्थिती थियो । कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए । उनले भने, ‘उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव छ । लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौं,’। उनले एक पाठकका रुपमा उपन्यास पठनयोग्य रहेको बताए । समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव संवेदनाको कृति भएको बताइन । उपन्यासमा महिला संवेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन । समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताइन् । उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन् ।

कार्यक्रममा निरु न्यौपानेकै गीत ’हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । राज सिग्देलले गाएका हुन् भने सिग्देलकै संगीत रहेको छ । अनुप चापागाईले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराई फिचर्ड छन् ।


प्रतिक्रिया