भारतमा औषधि उत्पादन गर्ने एक कम्पनीमा विस्फोट हुँदा १२ जनाको मृत्यु

असार १६, २०८२ | काठमाडौं
भारतको तेलंगाना राज्यमा रहेको एक औषधि उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
हैदराबादबाट ५० किलोमिटर दुरीमा रहेको सिगाची इन्डस्ट्रिज नामक औषधि उत्पादन गर्ने कम्पनीमा जडान गरिएको विद्युतीय उपकरण विस्फोट भएको हो । सो विस्फोटमा परि २६ जना घाइते भएको हैदराबादका प्रहरी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
विस्फोटमा घाइते भएका ४ जनाको अवस्था गम्भिर रहेको समाचारमा जनाइएको छ । स्थानीय प्रहरीका अनुसार विस्फोट भएको स्थानमा आगोको ज्वालाहरु देखिएको थियो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई २ लाख तथा घाइतेहरुको उपचारका लागि ५० हजार भारु उपलब्ध गराउने बताउनुभएको छ ।
सो विस्फोट भएसँगै औषधि उत्पादक कम्पनीको सेयर मूल्य समेत १२ प्रतिशत घटेको छ । अमेरिका र संयुक्त अरब इमिरेट्समा समेत सहायक कम्पनी स्थापना गरेको सो कम्पनीले औषधि सहित कस्मेटिक, खाद्यान्न र रसायनिक क्षेत्रका लागि आवश्यक पर्ने विभिन्न सामग्री उत्पादन गर्दै आएको छ ।