'सद्दाम हुसेनको २६ लिटर रगतले लेखाईएको थियो कुरान'

रेडियो कान्तिपुर संवाददाता

वैशाख १५, २०७४ | काठमाडौं

इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई ठूला ठूला महल बनाउनुबाहेक विशाल मस्जिद बनाउने पनि शोख थियो । यस्तै किसिमको मस्जिद सद्दामले बग्दादको मध्य भागमा बनाएका थिए, जसको नाम उम्म अल मारिक राखिएको थियो ।

सो मस्जिद सन् २००१ मा सद्दामको जन्मदिनको अवसरमा बनाइएको थियो । सो मस्जिद मिनार नामक एक मिसाईलको स्वरुपमा बनाइएको थियो । सो मिसाईलले खाडी युद्धको समयमा इजरायलमा आक्रमण गरिएको थियो ।

सद्दाम हुसेनको जीवनीका लेखक कान कफ्लिन लेख्छन्, 'सद्दामले बनाएको एक मस्जिदमा सद्दामको रगतले लेखिएको एउटा कुरान पनि राखिएको छ ।' सो कुरानको सबै ६ सय ५ पृष्ठ सर्वसाधारणलाई देखाउने उद्देश्यले शीशाको दराजमा राखिएको छ । सो कुरान लेख्नका लागि सद्दामले केही बर्षसम्म लगातार रगत झिकी संकलन गरेर राखेको मस्जिदका मौलवीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

सद्दामलाई लिएर अर्को किताव लेखेका सैद अब्रिशका अनुसार सद्दामले ठूला ठूला भवन तथा मस्जिद बनाउनुको कारण टिक्रिटमा बितेको उनको बालापन हो, जहाँ उनको परिवारका लागि एउटा जुत्ता किन्ने पैसा समेत थिएन ।

सद्दामको महलको संख्या २० भन्दा बढी थियो । टेलिभिजन हेर्न शोखिन सद्दाम विशेषगरी सिएनएन, बीबीसी र अलजजिरा हेर्ने गर्थे ।

सद्दामको बारेमा अर्को किताब लेखेका अमाजिया बरमका अनुसार सद्दामको शासनकालका उनका धेरै बिरोधीलाई बिष दिएर मार्ने गरिएको थियो । सोही कारण सद्दामलाई समेत कसैले उनलाई बिष दिएर मार्ने हो कि भन्ने डरले सतारहन्थ्यो । राष्ट्रपति भवन पुग्ने हरेक सामानमा रेडिएशन वा बिषालु पदार्थ रहे/नरहेको बारे सद्दामले परमाणु बैज्ञानिकबाट जाँच गराउथे ।

सद्दामका हरेक महलमा रहेका पौडीपोखरीमा समेत बिष मिसाएको हुनसक्ने आशंकामा दैनिक जाँच गर्ने गरिन्थ्यो ।

राम्रो कपडा लगाउने तथा सधै सुन्दर देखिने चाहानाका कारण सद्दामले पछि  गएर परम्परागत सैनिक बर्दी लगाउन छोडेर सुट लगाउन थालेका थिए । संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव कोफी अन्नानको सल्लाहमा उनले सुट लगाउन थालेका थिए । सुट लगाएपछि विश्व नेताको रुपमा उनको छवी राम्रो हुने अन्नानको सुझाव थियो ।

 


प्रतिक्रिया