विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

पुस २७, २०७८ | काठमाडौं

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो ।

शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो नै अन्तिम विकल्प रहेको बताइएको थियो । सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन ।

शल्यक्रियाअघि बेनेटले भनेका थिए, 'गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ । म बाँच्न चाहन्छु । यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो । मसँग अरु विकल्प छैन ।' मेरिल्यान्ड युनिभर्सिटीले शल्यक्रियाका लागि अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) सँग आकस्मिक अनुमति लिएको थियो ।

शल्यक्रियामा संलग्न चिकित्सक डाक्टर ब्राट्ली ग्रिफिथले चिकित्सा विज्ञानमा अभूतपूर्व सफलता प्राप्त भएको बताएका छन् । 

अर्ग्यानडोनर डट जीओभीका अनुसार अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो । चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो ।

सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिने/नसकिनेबारे अनुसन्धान भइरहेको छ । यसअघि आनुवंशिक भिन्नताका कारण सुँगुरको मुटु प्रत्यारोपण सफल भएको थियो । यस पटक भने वैज्ञानिकहरूले हानिकारण जिनहरू सम्पादन गरेर हटाएका थिए । त्यसपछि मात्रै प्रत्यारोपण सफल भएको बताइएको छ ।


प्रतिक्रिया