प्रदेश सभाको एक वर्ष पूरा, अधिकांश प्रदेशको योजना अधूरा

रेडियो कान्तिपुर संवाददाता

माघ २१, २०७५

- प्रदेश २, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा बैठक बसेको आज एक वर्ष पूरा भएको छ । प्रदेश २ र ५ ले एक वर्ष पूरा भएको अवसरमा बिशेष कार्यक्रम आयोजना गरेका छन् भने कर्णाली र सुदुरपश्चिम प्रदेशले आफ्नै बार्षिकउत्सव उपेक्षा गरेका छन् ।

सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बिशेष कार्यक्रम गर्ने भनेपनि सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण स्थगित गरेको छ । प्रदेशसभा बसेको एक वर्ष हुँदा समेत प्रदेश २ र ५ ले नामाकरण र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेश ३ को पहिलो बैठक बसेको माघ १८ गते नै एक वर्ष भएको छ भने प्रदेश एक र गण्डकी प्रदेशको बैठक बसेको भोली एक वर्ष पुग्नेछ । 

प्रदेश २ र ५ ले प्रदेश प्रमुखको उपस्थितिमा आज विशेष कार्यक्रम आयोजना गरेका छन् ।  प्रदेश ५ को सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले माघ २१ गतेलाई प्रदेश सभा दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । प्रदेश ५ का प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार, प्रदेश दिवसका अवसरमा आयोजना हुने कार्यक्रमलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल तथा मन्त्रीहरुले सम्बोधन गर्नुहुनेछ ।

सोही कार्यक्रममा प्रदेश सभा दर्पणको लोकार्पण, उत्कृष्ठ कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिने छ । २०७४ असार २४ गतेसम्म जारी प्रदेश सभाको पहिलो अधिवेशनमा २८  पटक बैठक बसेको थियो ।

जसमा ११ विधेयक दर्ता भएका थिए । दोस्रो अधिवेशन मंसिर २६ गतेबाट बसेको थियो । यसमा जम्मा १३ वटा बैठक सम्पन्न भएका थिए । यसमा जम्मा १४ विधेयक दर्ता भएका छन् । प्रदेशसभाले एक वर्षको अवधीमा संशोधनसहित जम्मा १७ वटा विधेयक पारित गरेको छ । 

यस्तै प्रदेश २ ले दिउँसो एक बजे प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा बिशेष कार्यक्रम आयोजना गरेको छ । सो अघि ११ बजे प्रदेश सभा बस्दैछ । एक वर्षमा प्रदेश २ ले १६ वटा कानुन बनाएको छ भने ७ वटा समितिमा छलफलका क्रममा छन् । यस्तै २ वटा प्रक्रियामा छन् । प्रदेश २ मा ७२ पटक प्रदेश सभा बैठक बसेको छ  ।   


प्रतिक्रिया