अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप अभियान सुरु

पहिलो खोप लगाउँदै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन फोटो : ब्लुमवर्ग 

फाल्गुन ९, २०७७ | अस्ट्रेलिया

अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो चरणको खोप कार्यक्रम आइतबारबाट सुरु भएको छ । सोमबारदेखि सुरु गर्ने भनिएको खोपको शुरुवात एकदिन अगावै गरिएको हो । दोस्रो विश्व युद्धका जीवित नागरिक ८४ वर्षीय जेन मलेसियाकलाई पहिलो खोप लगाएर कार्यक्रमको शुरुवात गरिएको थियो । 

प्रधानमन्त्री स्टक मरिसनले समेत भाइरसविरुद्धको खोप लगाउनु भएको छ । फाईजर बायोन्टेकद्वारा निर्मित फाईजर खोपको पहिलो खेप करीब एक साताअघि अस्ट्रेलिया पुगेपछि सरकारले खोप कार्यक्रमलाई समय अगावै सुरु गरेको हो । प्रधानमन्त्री मरिसनपछि, मुख्य स्वास्थ्य अधिकारी पल केलीका साथै केही स्वास्थ्यकर्मी तथा वृद्धवृद्धालाई रेखदेख गर्ने कर्मचारीले खोप लगाएका थिए । 

प्रधानमन्त्री मरिसनले खोपप्रति विश्वास दिलाउन र जनतालाई कोरोना भाइरस विरुद्धको खोप महत्वपूर्ण र सुरक्षित भएको देखाउन आफूले खोप लगाएको बताउनुभयो । आफूले लगाएको खोपले सम्पूर्ण जनतामा खोप प्रतिको विश्वास बढाउने र खोप अभियानलाई मद्दत पुग्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री मरिसनले खोप अभियान सुरु भएको दिनलाई ‘ऐतिहासिक दिन’ भएको बताउनुभयो । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम सोमबारदेखि भने ठूलो मात्रामा सुरु गरिनेछ । 

अस्ट्रेलियाले गत सोमबार मात्र १ लाख ४२ हजार डोज फाईजर खोप भित्र्याएको थियो । सरकारले कम्तिमा ६० हजार डोज यही महिनाको अन्त्यसम्ममा लगाईसकिने जनाएको छ । अस्ट्रेलियाले थप १ करोड सहित २ करोड फाईजर खोपको डोज भित्र्याउने सहमति गरिसकेको प्रधानमन्त्री मरिसनले बताउनु भएको छ । उहाँका अनुसार ती खोप १ करोड जनतालाई दुई डोजको दरले लगाउन पर्याप्त हुनेछ । 

स्वास्थ्यमन्त्री ग्रेग हन्टले यही महिनाको अन्त्यसम्ममा ६० हजार डोज लगाईसक्ने विश्वास व्यक्त गर्नुभयो । अस्ट्रेलियाले यसअघि अपेक्षा गरेभन्दा अघि नै आफ्नो खोप कार्यक्रम सुरु गरेको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि सरकारले करीब १ महिना पहिले नै विभिन्न ५ तहको कार्यक्रम सार्वजनिक गरिसकेको छ । 

शुरुवाती चरणमा क्वारेन्टाईनको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी, अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी लगायत कर्मचारी, वृद्धवृद्धाको हेरचाह गर्ने नर्सिङ्गहोममा काम गर्ने कर्मचारी र वृद्धवृद्धा तथा असहाय तथा अपांग ब्यक्तिको सहयोगमा काम गर्ने कर्मचारीलाई प्राथमिकताका आधारमा खोप लगाईनेछ । अस्ट्रेलियाले यही वर्षको अक्टोबर सम्ममा आफ्ना सबै नागरिकलाई नि:शुल्क रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाईसक्ने योजना बनाएको छ ।

दोस्रो खोपलाई पनि अनुमति

कोरोना भाइरस नियन्त्रणका लागि अक्सफोर्ड विश्वविद्यालयद्वारा विकास गरिएको एस्ट्राजेनेका खोपलाई पनि अस्ट्रेलियाले अनुमति दिएको छ । अस्ट्रेलियास्थित औषधि नियमन निकाय थ्योरेपेटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सो खोपको प्रयोगलाई स्वीकृति प्रदान गरेको हो । यसपहिले नै फाइजर बायोन्टेक खोपलाई अनुमति दिइसकेको अस्ट्रेलियाले आफ्नै मुलुकमा उत्पादन गरिने अक्सफोर्ड एस्ट्राजेनेका खोपलाई भने ढिलोगरी अनुमति दिएको हो । टीजीएले १८ वर्ष भन्दा माथिका नागरिकमा मात्र प्रयोग गर्नेगरी यो भ्याक्सिनलाई अनुमति प्रदान गरेको हो । 

अस्ट्रेलियाले करीब ५ करोड ४० लाख अक्सफोर्ड अस्ट्राजेनेका खोप आफ्नो लागि सुरक्षित गरिसकेको छ जसमध्ये ५ करोड स्थानीयस्तरमा नै उत्पादन गर्दैछ । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अर्काे महिनाको अन्त्यदेखि हरेक साता १० लाख डोज खोप उपलब्ध हुने बताउनुभयो । यद्यपि, यस खोपको सुरु कहिलेदेखि हुने भन्ने बारेमा भने मिति सार्वजनिक गरिएको छैन । 

प्रधानमन्त्री स्कट मरिसनले खोपको प्रभावकारिताका सम्बन्धमा आधिकारिक स्वास्थ्य अधिकारीको सल्लाह र सुझावलाई सुन्न तथा ध्यान दिन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री मरिसनले भन्नुभयो, ‘अक्सफोर्ड एस्ट्राजेनेका खोपले सबै सुरक्षा, गुणस्तर र प्रभावकारिताका मापदण्डा पूरा गरेको र यो खोप सबै अस्ट्रेलियाली नागरिकलाई नि:शुल्क उपलब्ध गराईनेछ ।’

अस्ट्रेलियाको मेलबर्नस्थित मेडिकल उत्पादक कम्पनी सीएसएले यस खोपको आन्तरिक रुपमा उत्पादन गर्नेछ । सञ्चार माध्यमका अनुसार शुरुवाती चरणमा यो खोप अस्ट्रेलियामा आयात गरिनेछ भने केही समयपछि स्थानीय रुपमा नै उत्पादन गरेर जनतालाई लगाईनेछ । अस्ट्रेलियाले संसारभरिका विभिन्न ४ खोप उत्पादकसँग करीब १५ करोड डोज बराबरको खोपको सम्झौता गरिसकेको समाचारमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले यी दुई खोप बाहेक ५ करोड १० लाख कोभ्याक्स खोप समेत ल्याइने जनाएको छ । 

यसका साथै विश्वब्यापी कोभ्याक्समा सम्मिलित भएका कारण समेत यदी क्लिनिकल ट्रायल सफल भएको खण्डमा करीब ८ प्रकारका अन्य खोप समेत उपलब्ध हुनेछ । मन्त्रालयले खोपको अनुसन्धान र विकासका लागि अहिलेसम्म करीब ३६ करोड डलर खर्च गरिसकेको र विभिन्न ४ वटा खोप सम्बन्धी सम्झौताका लागि ३ दशमलव ३ अर्ब डलर खर्च गरिसकेको जनाएको छ ।


प्रतिक्रिया