अस्ट्रेलियाले सुरु गर्‍यो ‘नेजल स्प्रे’ को परीक्षण

कोरोना भाइरस परीक्षणका लागि एडिलेडस्थित भिक्टोरिया स्क्वायर सेन्टरमा लाम लागेका स्थानीयवासी । फोटो : इनडेली  

पुस १३, २०७८ | अस्ट्रेलिया

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नाकमा लगाइने नेजल स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं संख्यामा नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । 

नेजल स्प्रेको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभर्सिटी, मोनास युनिभर्सिटी लगायत विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । 

अस्ट्रेलियाको समाचार संस्था एबीसीका अनुसार यो औषधि ३ सय ४० घरमा परीक्षण गरिनेछ र यदि यो सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । 

यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यता अनुसार कुनै कठिनाई बिना वितरण गर्न सकिनेछ । यस कार्यक्रमका लागि भिक्टोरिया राज्य सरकारले पहिलो परीक्षणका लागि करीब ५ मिलियन डलर बराबरको सहयोग उपलब्ध गराएको छ । 

परीक्षणका क्रममा रहेको नाकमा लगाइने यस स्प्रेमा रगत पातलो बनाउनका लागि प्रयोग हुने औषधि ‘हेपारिन’ को प्रयोग गरिएको बीबीसीले उल्लेख गरेको छ । परीक्षणका क्रममा यसले कोरोना भाइरस संक्रमितलाई धेरै हदसम्म संक्रमणमुक्त बनाउन सहयोग गर्ने बताइएको छ । 

सन् २०२२ को मध्यसम्ममा यसको परीक्षण सफल हुने समेत समाचारमा उल्लेख छ । भिक्टोरियाका मेडिकल रिसर्च मन्त्री जाला पुलफोर्डले यस नेजल स्प्रेको उत्पादन स्थानीयस्तरमा गर्न सकिने विश्वास ब्यक्त गर्नु भएको छ । 

उहाँले भन्नुभयो, ‘यो कार्यले भिक्टोरियनका लागि मात्र नभएर विश्वभरि रहेका नागरिकलाई फाईदा हुनेछ ।’यद्यपि, यसको सफलता र बजारमा आउने प्रयोगका लागि भने अझै कम्तिमा ६ महिना कुर्नुपर्ने छ ।

अस्ट्रेलियामा कोरोना संक्रमण अत्यधिक

अस्ट्रेलियामा रहेका १२ वर्षभन्दा माथिका करीब ९२ प्रतिशत जनताले कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाइसकेको भएपनि अहिले भाइरस संक्रमण दर अत्यधिक बढेको छ । 

६ राज्य तथा २ टेरिटोरीमा अहिले दैनिक ९ हजारको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । यद्यपि, अस्पतालमा भर्ना हुने संक्रमितको संख्या भने कम रहेको छ । प्रायजसो सबै राज्यमा रहेका ८० प्रतिशत भन्दा बढी योग्य नागरिकले खोप लगाइसकेका कारण अस्ट्रेलियाले केही समय पहिल्यै लकडाउनलाई हटाइसकेको छ भने जनजीवनलाई सामान्य पार्ने कोसिस गरिरहेको छ ।

स्वास्थ्य विभागको तथ्यांक अनुसार विगत २४ घण्टामा न्यू साउथ वेल्समा ६ हजार ६२, भिक्टोरिया २ हजार ७ सय , क्युन्सल्याण्ड १ हजार १ सय, दक्षिण अस्ट्रेलिया ९ हजार ९५ र राजधानीस्थित क्यापिटल टेरिटोरीमा २ सय ५२ नयाँ संक्रमित थपिएका छन् । 

संक्रमितको संख्या बढेसँगै पीसीआर परीक्षण गर्नका लागि सेवा दिन राज्य सरकारले पर्याप्त जनशक्ति परिचालन नगरेको भन्दै आलोचना समेत भइरहेको छ । परीक्षण गर्नका लागि स्थानीयवासी ८ घण्टासम्म लाईनमा लाग्नुपर्ने बाध्यता छ । 

अस्ट्रेलियाले पूर्ण खोप लगाइसकेका नागरिकलाई बुस्टर खोप लगाउने समय समेत ६ महिनाबाट घटाएर ४ महिनामा घटाइसकेको छ । त्यसैगरी स्वास्थ्य सेवा पुर्‍याइरहेका स्वास्थ्यकर्मी समेत उल्लेख्य रुपमा पोजेटिभ देखिएपछि अस्पतालमा काम गर्ने कर्मचारीको समेत अभाव देखिएको स्थानीय समाचारमा जनाइएको छ । 

केन्द्र सरकारका साथै स्थानीय राज्य सरकारले समेत वर्तमान अवस्थामा देखिएको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए पनि दैनिक बढिरहेको संक्रमणले समस्या सृजना गरिरहेको छ । 

संक्रमण दैनिक रुपमा बढिरहेपछि विभिन्न स्थानीय सरकारले संक्रमण नियन्त्रणका लागि घरभित्र जम्मा हुन पाउने संख्या लगायत नियममा पुन: फेरबदल गरेका छन् । 


प्रतिक्रिया