पेरुमा हिंसात्मक प्रदर्शन : ५३ को मृत्यु

माघ ६, २०७९
सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा परी पेरुमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । पछिल्लो डेढ महिनायतादेखि जारी झडपमा परि ७ सय ७२ जना घाइते भएको छ । पेरुमा जारी सो प्रदर्शनलाई अहिले सम्मकै खराब हिंसात्मक आन्दोलनका रुपमा व्याख्या गरिएको छ ।
पेरुको राजधानी लिमामा पूर्व राष्ट्रपति पेद्रो कास्टियोको रिहाइको माग गर्दै चर्किएको प्रदर्शनले उग्र रुप लिएको हो । गत डिसेम्बरको पहिलो साता पूर्व राष्ट्रपति कास्टियोलाई महाअभियोगसहित पदबाट हटाउने निर्णयसँगै समर्थकले प्रदर्शन सुरु गरेका थिए । त्यसयता उनका समर्थकले दिनहँुजसो नवनियुक्त राष्ट्रपति डिना बोलुआर्तेको राजीनामा माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
यस्तै उनीहरुले निर्वाचनको मागसहित पूर्व राष्ट्रपति कास्टियोको रिहाइको माग समेत गरेका छन् । गत डिसेम्बर ७ मा पूर्व राष्ट्रपति कास्टियो माथि संसद विघटन गर्न खोजेको आरोपमा महाअभियोग सहित पदमुक्त गरिएको थियो । कास्टियोमाथि लगाइएको आरोपको छानविनका लागि उनी हाल प्रहरी हिरासतमा छन् ।