निज्जरको मृत्युबारे क्यानडासँग वार्ता गर्न सकिन्छः भारतीय विदेशमन्त्री

आश्विन १३, २०८० | काठमाडौं
भारतीय विदेशमन्त्री एस जयशंकरले सिख नेता हरदीप सिंह निज्जरको मृत्युको बिषयमा क्यानडासँग वार्ता गर्न सकिने बताउनुभएको छ ।
अमेरिका भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले सञ्चारकर्मीसँग कुरा गर्दै निज्जरको हत्यामा भारतीय एजेन्सीमाथि क्यानाडाले लगाएको आरोपबारे समेत छलफल गर्न तयार रहेको बताउनुभएको हो ।
निज्जरको जून १८ मा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो । क्यानाडाले निज्जरको मृत्युमा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाइएको भन्दै जयशंकरले कसैको हत्या गर्नु भारतको नीति नभएको बताउनुभएको छ ।
उहाँले क्यानडामा भारत विरोधी गतिविधिलाई दिइएको स्वतन्त्रतामा ध्यान दिनुपर्ने समेत बताउनुभयो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा बोल्दै निज्जरको हत्यामा भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ ।