अजरबैजान प्रशासित नागोर्नो काराबागमा संयुक्त राष्ट्रसंघको मिसन पुग्यो

आश्विन १५, २०८०

अजरबैजान प्रशासित नागोर्नो काराबागमा संयुक्त राष्ट्रसंघको मिसन पुगेको छ । अर्मेनियाका आदिवासीहरुको बाहुल्य भएको समस्याग्रस्त क्षेत्रमा पहिलो पटक संयुक्त राष्ट्रसंघ पुगेको हो । गत महिना अजरबैजानको सेनाले कारबाही सुरु गरेपछि त्यस क्षेत्रका हजारौं अर्मेनियाका आदिवासी बाहिरिएका छन् ।

आफूहरुलाई छुट्टै मुलुकका रुपमा पहिचान दिन प्रयासरत सो क्षेत्रका बासिन्दा र अजरबैजान सरकारबीच विगत ३० वर्षदेखि तनाव छ । अर्मेनियाले हालै अजरबैजानको सेनाले गरेको कारबाहीलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएको थियो ।

सो क्षेत्रलाई अजरबैजानबाट स्वतत्र गर्नुपर्ने मागमा छिमेकी अर्मेनियाले साथ दिँदै आएको छ । गत एक सातामा मात्रै अजरबैजान सरकारको कारबाहीका कारण १ लाख आदिवासीले सो क्षेत्र छाडेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अधिकांशले अर्मेनियामा बस्ने इच्छा ब्यक्त गरेका कारण औपचारिक बसाइसराइका लागि राष्ट्रसंघले सहयोग गर्ने रोयर्टसले उल्लेख गरेको छ ।  


प्रतिक्रिया