कोभिड संक्रमणका बेला फिलिपिन्समा चीनको प्रभाव रोक्न अमेरिकाले गोप्य अभियान चलाएको खुलासा

असार १, २०८१ | काठमाडौं

विश्वव्यापी कोरोना महामारीको समयमा फिलिपिन्समा चीनको बढ्दो प्रभावलाई रोक्न भन्दै अमेरिकाले एक गोप्य कार्यक्रम सञ्चालन गरेको खुलासा भएको छ ।

चीनलाई कमजोर पार्न पेन्टागनले गोप्य रुपमा कोभिड भ्याक्सिन विरोधी अभियान चलाएको तथ्य सार्वजनिक भएको हो ।

रोयटर्सको एक अनुसन्धानात्मक रिपोर्टअनुसार अमेरिकी सेनाले कोभिड–१९ संकटको बेलामा चीनको सिनोभ्याक खोपलाई बदनाम गर्न एक गोप्य कार्यक्रम सञ्चालन गरेको पुष्टि भएको छ ।

रिपोर्टअनुसार सो कार्यक्रम सञ्चालन गर्न अमेरिकाले फिलिपिन्सका जनतालाई लक्षित गरेको थियो । जसबाट निर्दोष मानिसको ज्यान जोखिममा परेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

सो गोप्य अभियानको उद्देश्य चीनले आपूर्ति गरिरहेको खोप र अन्य जीवन बचाउने सहायताको सुरक्षा र प्रभावकारिताको बारेमा आम जनतामा शंका पैदा गर्नु थियो । त्यसको लागि नक्कली इन्टरनेट खाताहरू खोली चीनले बनाएको भ्याक्सिन विरोधी भ्रामक पोस्टहरु सञ्जालमा राखिएको थियो ।

रोयटर्सले अनुसन्धानको क्रममा एक्समा कम्तीमा ३ सय नक्कली खाताहरू पहिचान गरेको जनाएको छ । जसमा फिलिपिन्सको अभियानसँग परिचित पूर्व अमेरिकी सैन्य अधिकारीले शेयर गरेको विवरणसँग मेल खाएको बताइन्छ ।

सो अभियान पेन्टागनले २०२० को वसन्त ऋतुबाट सुरु गरी सन् २०२१ को मध्यसम्म सञ्चालन गरेको थियो ।  


प्रतिक्रिया