दक्षिण कोरियाका राष्ट्रपति योलले दलका नेतालाई पक्राउ गर्न आदेश दिएको खुलासा
मंसिर २१, २०८१
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सत्तारुढ दलका नेतालाई पक्राउ गर्न आदेश दिएको खुलासा भएको छ । त्यहाँका राजनीतिक दलहरुको आज बसेको आप्तकालीन बैठकमा आफ्नै दलका नेता हान डोंग–हुनलाई पक्राउ गर्न आदेश दिएको खुलासा भएको हो ।
गत मंगलबार राष्ट्रपति युनले सैन्य शासन लगाउने घोषणा गरेसँगै सत्तारुढ दल र विपक्षी दलका केही नेतालाई पक्राउ गर्न आदेश दिएको बीबीसीले जनाएको छ । पक्राउ सूचीमा सत्तारुढ दलका केही नेतासहित प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङ लगायत रहेका छन् ।
राष्ट्रपति युनले आफ्नो योजना विरोधी नेतालाई पक्राउ गर्न खोजेको त्यहाँको राष्ट्रिय गुप्तचर विभागले जनाएको छ । यस्तै, बैठकमा सांसदहरुले राष्ट्रपति युनमाथि महाभियोग लगाउने प्रस्तावमा छलफल समेत गरेका छन् । सो प्रस्ताव माथि भोलि दुई तिहाइ सांसदले मतदान गरेमा पारित हुने बताइएको छ ।