दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरी ५ मा हुने
पुस २३, २०८१
दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरी ५ मा हुने भएको छ । भारतीय निर्वाचन आयोगले दिल्ली विधानसभा चुनावको मिति तोकेको हो । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारका अनुसार दिल्ली विधानसभाको नतिजा फेब्रुअरी ८ मा आउने छ । दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।
दिल्लीमा कुल १ करोड ५५ लाख मतदाता रहेका छन् जसमध्ये ८३ लाख ४९ हजार पुरुष छन् भने ७१ लाख ७४ हनार महिला रहेका छन् । पहिलो पटक मतदान गर्ने मतदाताको संख्या करिब २ लाख रहेको आयोगले जनाएको छ । राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने पनि आयोगको भनाइ छ । दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टीको सरकार रहेको छ ।
आम आदमी पार्टीले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै भारतीय जनता पार्टीले २९ उम्मेदवार तथा कांग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । सन् २०२० मा भएको दिल्ली विधानसभाको पछिल्लो चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । त्यस्तै भारतीय जनता पार्टीले ८ सिट जित्दा भने कांग्रेस शून्यमा रहेको थियो । दिल्लीमा कांग्रेस त्यसअघि २०१५ मा भएको चुनावमा एक सिट पनि ल्याउन सकेको थिएन ।