अमेरिका र भारतका दुई नेताबीच फोनवार्ता

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०८१ | बीबीसी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार प्रधानमन्त्री मोदीसँग भएको कुराकानी निकै अर्थपूर्ण भएको बताउनु भएको छ ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै दुई नेताबीच अमेरिका र भारतबीचको सहयोगलाई सुदृढ र बिस्तार गर्ने विषयमा वार्ता भएको जनाएको छ । दुई नेताबीच इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । 

ट्रम्पले वार्ताका क्रममा भारतले अमेरिकामा बनेका सुरक्षा उपकरण किन्ने महत्वका विषयमा जोड दिनु भएको थियो ।

 साथै आपसी हितका व्यापारिक विषयमा पनि छलफल भएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिलाई उद्दृत गर्दै बीबीसीले उल्लेख छ ।

भारतका प्रधानमन्त्री मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्न पाउँदा खुसी लागेको भन्दै ऐतिहासिक दोस्रो कार्यकालको शुभकामना दिनु भएको छ ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै पारस्परिक रुपमा लाभदायक र विश्वसनीय साझेदारीको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।

आफ्ना जनताको हित, विश्व शान्ति, समृद्धि र सुरक्षाका लागि मिलेर काम गर्ने पनि उहाँले बताउनुभयो । 

यसअघि ट्रम्पले शपथ लिएको एक दिनपछि भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोसँग संवाद गर्नु भएको थियो ।

सो क्रममा अमेरिकाका विदेशमन्त्री रुबियोले भारतसँग आर्थिक मोर्चामा काम गर्न इच्छुक रहेको बताउनु भएको थियो ।


प्रतिक्रिया