महाकुम्भ मेलामा माघ पूर्णिमा स्नान सुरु

माघ ३०, २०८१ | काठमाडौं

भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा माघ पूर्णिमाको स्नान सुरु भएको छ । माघ पूर्णिमा स्नानका लागि त्रिवेणी संगममा ठूलो संख्यामा भक्तजनहरु पुग्ने गरेका छन् । जसका कारण रेलवे स्टेसनमा मानिसको ठूलो भीड जम्मा भएको छ । 

माघी पूर्णिमा स्नानपछि श्रद्धालु भक्तजनले आफ्नो एक महिनाको कल्पवास समापन गर्नेछन् । आज साढे दुई करोड भक्तजनले स्नान गर्ने अनुमान गरिएको छ । यसअघि ४ वटा स्नान महोत्सव सम्पन्न भइसकेका छन् । 

गत जनवरी १३ देखि करीब ४६ करोड भक्तजनले स्नान गरेका छन् । अब अन्तिम स्नान महोत्सव फेब्रुअरी २६ मा महाशिवरात्रिका दिन हुनेछ । त्रिवेणी संगमदेखि १० किलोमिटरसम्म चारैतिर भक्तजनको भीड लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अत्यधिक जामका कारण मेला क्षेत्रलाई ‘नो भेहिकल जोन’ घोषणा गरिएको छ ।

यस्तै, आपतकालीन अवस्थासँग जुध्न अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । मेलामा आज भक्तजनको ठूलो भीड हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

स्नान घाटमा ब्यारिकेड लगाएको छ भने वाच टावर निर्माण गरी ट्राफिक डाइभर्सन गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । गत जनवरी २९ मा महाकुम्भ मेलाका क्रममा केही ठाउँमा भागदौड मच्चिएको थियो । सो क्रममा धेरैको ज्यान गएको थियो । मेलामा यस्तो अवस्था आउन नदिन प्रशासनले सतर्कता बढाएको छ ।


प्रतिक्रिया