प्रधानमन्त्री कार्कीद्वारा तेस्रो पटक मन्त्रीमण्डल विस्तार

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ९, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री थप्दै तेस्रो पटक मौजुदा मन्त्रीमन्डल विस्तार गर्नुभएको छ । आजको विस्तारसँगै मन्त्रीमण्डल १० सदस्यीय भएको छ । कार्कीले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएर कार्यभार सम्हालेका छन् ।

नवनियुक्त स्वास्थ्यमन्त्री गौतमले जेन जी आन्दोलनबाट प्रभावितलाई मनोसामाजिक परामर्श उपलव्ध गराउने पहिलो निर्णय गर्नुभएको छ ।प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई मन्त्रीमा सिफारिस गरिएपनि अन्तिममा नाम हटाइएको थियो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएपनि उहाँको विवादित पृष्ठभूमिका कारण अन्तिम समयमा नाम हटाइएको हो । त्यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठले सो मन्त्रालय लिन नमानेपछि मन्त्रीबाट नाम हटाइएको हो । श्रेष्ठले पर्यटन मन्त्री बन्न चाहानुभएको थियो । तेस्रो पटक विस्तार गरिएपनि मन्त्रीमण्डलले पूर्णता पाएको छैन । 


प्रतिक्रिया