दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी किमलाई २० महिनाको जेल सजाय
माघ १४, २०८२ | काठमाडौं
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन हीलाई घुस लिएको अभियोगमा २० महिनाको जेल सजाय सुनाइएको छ । त्यहाँको एक अदालतले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको ठहर गर्दै केओनलाई जेल सजाय हुने फैसला सुनाएको हो ।
केओनमाथि सन् २०२२ को अप्रिलदेखि जुलाई सम्मको अवधिमा एक संस्थाबाट झण्डै ५६ हजार अमेरिकी डलर बराबरका उपहार लिएको आरोप लागेको थियो । अदालतबाट भएको जेल सजाय हुने पछिल्लोे फैसला दक्षिण कोरियाको इतिहासमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि त्यहाँका पूर्व राष्ट्रपति युन सुक योललाई अदालतले पाँच वर्षको जेल सजया हुने फैसला सुनाएको थियो । सन् २०२४ मा मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा योल माथि सो सजाय सुनाएको थियो ।
यसैबीच अदालतले जेल सजाय हुने फैसला पछि प्रतिक्रिया जनाउँदै योलकी पत्नी किम केओन हीले अदालतको आदेश स्वीकार गर्ने बताएको बीबीसीले जनाएको छ । अदालतले किमलाई १ करोड २८ लाख ५० हजार वोन नगद फिर्ता गर्न समेत आदेश दिएको समाचारमा जनाइएको छ।











