इजरायलमाथि मिसाइल प्रहार तीव्र
चैत्र १४, २०८२ | काठमाडौं
अमेरिका–इजरायल र इरानबीच जारी युद्धमा यमनको हुथी विद्रोही पनि मिसिएको छ । इरानलाई समर्थन गर्दै हुथीले जारी युद्धमा पहिलोपटक इजरायलमाथि मिसाइल प्रहार गरेको हो । हुथीका बिग्रेडियर जनरल याया सारेले आफ्नो लक्ष्य हासिल नहुदाँसम्म यस युद्धमा सहभागी हुने बताएको अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजरायली सेनाले हुथीद्वारा प्रहार गरिएको मिसाइल प्रतिरोध गरिएको जनाएको छ । हुथीले इजरायलका संवेनदशील सैन्य पूर्वाधारलाई निशाना बनाइएको जनाएको छ । इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक हुथीले आक्रमण गरेपछि चेतावनीस्वरुप साइरन बजेको थियो ।
लेबनानको हिजबुल्लाहले २ मार्चदेखि नै युद्धमा इरानलाई समर्थन गर्दै इजरायलसँग लडिरहेको छ । जवाफमा इजरायलले हिजबुल्लाह बाहुल्य दक्षिण लेबनानमा आक्रमण गर्दै आइरहेको छ । यमनको राजधानी साना सन् २०१४ देखि नै हुथीको नियन्त्रणमा छ । इजरायल र हमासबीचको युद्धका दौरान हुथीका लडाकुहरुले रेड सी क्षेत्रमा व्यवसाहिक जहाजहरुमाथि आक्रमण गरेका थिए ।








