आगामी दशक नेपाल-भारत सम्बन्धको स्वर्णीम दशक : मोदी

माघ ७, २०७६ | नयाँ दिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णीम दशक हुने बताउनु भएको छ । भारतीय सहयोगमा निर्मित मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) र ‘निजी आवास पुर्ननिर्माण परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले त्यस्तो बताउनु भएको हो । 

नयाँ वर्षको शुरुआतसँगै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने र आगामी दशक नेपाल–भारत सम्बन्धका लागि स्वर्णी दशक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो वर्षहरुमा नेपाल र भारतबीचको सम्बन्ध अभूतपूर्व प्रगति देख्न पाइएको छ र दुई देशबीचको साझेदारी तीब्र हिसाबले अघि बढिरहेको छ साथै विभिन्न नयाँ क्षेत्रहरुमा समेत सहयोग शुरु भएको छ ।’

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्स मार्फत संयुक्त रुपमा ती दुई परियोजनाको उद्घाटन गर्नु भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसको आफ्नो कार्यालयबाट स्वीच थिचेर ती परियोजना उद्घाटन गर्नुभयो । 

विराटनगरको जोगबनीस्थित आइसीपी र गोरखा तथा नुवाकोटको करीब ५० हजारको निजी घरको पुर्ननिर्माणको ‘निजी आवास पुर्ननिर्माण परियोजना’ दुबै परियोजनामा भारतीय सहयोगमा सम्पन्न भएको हो ।

सम्बोधनका क्रममा मोदीले पछिल्लो पाँच महिनामा दोस्रो पटक दुई देशबीचको द्धिपक्षीय परियोजनाको उद्घाटन हुनु नेपाल र भारत समबन्धको विस्तार तथा तीब्र विकासको प्रतिक भएको समेत बताउनुभयो । 

उहाँले नेपालको चौतर्फी विकासका लागि प्राथमिकताका हिसाबले भारतले एउटा विश्वसनीय साझेदारको भूमिका समेत निभाउँदै आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो सरकारको नेवरहूड फष्ट (छिमेक पहिले) प्राथमिकता रहँदै आएको छ । र, क्रसबोर्डर सञ्जाललाई बढाउनु उक्त नीतिको प्रमुख उद्देश्य हो । राम्रो कनेक्टिभिटि नेपाल र भारतबीचमा अझ बढी महत्व राख्ने छ ।’

नेपाल र भारतबीचको सम्म्बन्ध केवल छिमेकीको मात्र नभएर इतिहास, भूगोल, प्रकृति, भाषा, संस्कृति, प्रगति लगायत कैयन धागाहरुले जोडेको भन्दै उहाँले दुबै देशबीच राम्रो कनेक्टिभिटिले जीवनलाई अझ नजिक ल्याउने उल्लेख गर्नुभयो ।

कनेक्टिभिटि कुनै एउटा देशको भन्दा पनि पुरै क्षेत्रको विकास लागि उत्प्रेरकको काम गर्ने हुँदा पहिले छिमेक नीति अन्तर्गत सबै छिमेकी मुलुकसँगको आवागमनलाई सहज र सुचारु बनाउन, व्यापार, संस्कृति, शिक्षा लगायतका सबै क्षेत्रमा सम्पर्कलाई थप सुगम बनाउन पनि भारत प्रतिबद्ध रहेको मोदीले बताउनुभयो ।

‘भारत र नेपालबीच रेल, सडक र प्रसारण लाइन लगायतका थुप्रै कनेक्टिभिटि परियोजनाहरुमा काम गरिरहेका छन् । दुई देशबीच सीमाका प्रमुख नाकाहरुमा आइसीपीको निर्माणले व्यापार र आवागमनलाई निकै सहज बनाएको मोदीको भनाई छ ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पलाई एक पीडादायी घटना भएको र उक्त घटनाको नेपालीले दृढता र साहसपूर्ण सामना गरेको पनि खुशी व्यक्त गर्नुभयो । सुरु देखि नै भारतले भूकम्प पछिको पुर्ननिर्माणमा सहयोगी भूमिका निभाएको समेत मोदीले स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल र भारत सहयोग अन्तर्गत हाल ४५ हजार घरको पुर्ननिर्माण सम्पन्न भइसकेको र बाँकी पाँच हजार घरको पुर्ननिर्माण पनि चाँडै सकिने आशा छ ।’ प्रधानमन्त्री मोदीले यी घरहरु चाँडै नै नेपाललाई हस्ताक्षर गरिने समेत बताउनुभयो ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले यो वर्ष (सन् २०२०) मा नेपाल भ्रमण गर्ने पनि बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले दिनु भएको निम्तोका लागि धन्यवाद दिन चाहन्छु । र, यो वर्ष जसरी भए पनि मिलाएर नेपाल आउँछु ।’ गत जेठमा दोस्रो पटक प्रधानमन्त्री बनेयता मोदीले भुटान, माल्दिभ्स लगायतका छिमेकको भ्रमण गरिसक्नु भएको छ । 


प्रतिक्रिया