संक्रमणको जोखिम लम्बिए वैकल्पिक सिकाई प्रणाली कायम रहने

भाद्र १७, २०७७ | काठमाडौं

कोरोना संक्रमणको जोखिम लम्बिएमा वैकल्पिक सिकाई प्रणालीलाई नै शैक्षिक सत्र कायम गर्ने गरी सरकारले तयारी गरेको छ । संक्रमितको संख्या बढ्दै गएको हालको अवस्था तत्काल सामान्य हुने संकेत नदेखिएकाले सो तयारी गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

 रेडियो तथा टेलिभिजनबाट संचालन गरिएको दूर शिक्षा कार्यक्रम तथा स्वअध्ययनका लागि विद्यार्थीलाई उपलब्ध गराईएको पाठ्य सामग्रीमा अनिवार्य सहभागिताको व्यवस्था गर्न लागिएको हो । विद्यार्थीको अनिवार्य सहभागिता अनुगमनका लागि स्थानीय तह मार्फत विद्यालय र विद्यालयबाट शिक्षक खटाउने व्यवस्था गर्न लागिएको हो । 

अनुगमनमा खटाइएका शिक्षकबाट विद्यार्थीको मुल्यांकन गरिने र त्यसको आधारमा विद्यार्थीलाई आगामी शैक्षिक सत्रमा माथिल्लो कक्षाका सहभागिताका लागि मान्यता दिइने केन्द्रको तयारी छ । जसबाट विद्यार्थीको शैक्षिक वर्ष सदुपयोग हुने केन्द्र स्रोतको दाबी छ । 

गत असार १ गते देखी जारी वैकल्पिक शिक्षा पद्धतीमा विद्यार्थीको प्रभावकारी सहभागीतामा चुनौती देखिएको थियो । सो चुनौती व्यवस्थापनका लागि अनिवार्य सहभागिताको अवधारणा अघि बढाइएको केन्द्रको दावी छ ।    


प्रतिक्रिया