कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने

फाल्गुन २२, २०७७ | काठमाडौं
कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा भोलि आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । आज युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोलि कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिनुभएको हो ।
साथै भोलि बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । कोभ्याक्स सुविधाअन्तर्गत भोलि आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । सरकारले भोलिबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।
यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो । ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताउनुभयो । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमश: खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।