प्रदेश १ मा मन्त्रिपरिषद बिस्तार, ८ मन्त्री थपिए

माघ २३, २०७८ | काठमाडौं

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद बिस्तार गर्नु भएको छ । आज ८ मन्त्री थपिएसँगै प्रदेश मन्त्रिपरिषद् १३ सदस्यीय पुगेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाउनु भएको हो । 

थपिएका मन्त्रीहरुमा खानेपानी, सिँचाइ तथा ऊर्जामा माओवादीका उपनेता रामकुमार राई, कृषिमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर, सामाजिक विकासमा एकीकृत समाजवादीका राजन राई रहेका छन् । 

यस्तै, पर्यटन तथा संस्कृतिमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरे छन् ।

नेपाली कांग्रेसबाट वन, वातावरण तथा भू–संरक्षणमा शेखरचन्द्र थापा, उद्योग श्रम तथा रोजगारमा प्रतापप्रकाश हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले सपथ लिनुभयो । 

कांग्रेसबाट सपथ लिएका तीन जना मध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन । 

मन्त्रिपरिषद बिस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई बाइपास गरिएपछि उनीहरु असन्तुष्ट छन् । शपथ ग्रहण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की अनुपस्थित हुनुहुन्थ्यो ।


प्रतिक्रिया