वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छः पुष्पकमल दाहाल

वैशाख २९, २०८२ | काठमाडौं
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएको छ । सुर्खेतमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष पुष्प कमल दाहालले निर्वाचन प्रणाली फेर्नुपर्ने बताउनुभएको हो ।
विभिन्न पार्टीका माथिल्लो तहका नेताहरुले निर्वाचनमा मोटो रकम खर्च गर्नुपर्ने देखिएको बताउँदै आएका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले समेत महङ्गो भएको भन्दै निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।
निर्वाचन प्रणाली पविर्तनका लागि पार्टीले संविधान संशोधनको एजेण्डा बनाएको उहाँले बताउनुभयो । यसैबीच पछिल्लो केहि समययता राजतन्त्र पुर्नस्थापनाका लागि हुँदै आएका विभिन्न गतिविधिको प्रतिवाद गर्न नेता कार्यकर्तालाई दाहालले आग्रह गर्नुभएको छ । राजतन्त्रका कारण नेपाल लामो समय गरिब मुलुक बनेको उहाँको दाबी छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले कर्णाली प्रदेशकालागि तयार पारेको योजना वर्तमान सरकारले कटौती गरेको आरोप लगाउनुभयो ।