संखुवासभामा बस दुर्घटना : थप एकको मृत्यु (अपडेट)

फाल्गुन २६, २०७८ | संखुवासभा

संखुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीका अनुसार दुर्घटनामा परी घाईते भएकी मादी नगरपालिका–५ की युका पोखरेलको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । 

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा मादी नगरपालिकाकी सीता विक, अञ्जना कटुवाल, भवानी प्रसाद दाहाल, ईन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दिपक कुमार दाहाल रहेका छन् ।

त्यस्तै, ताप्लेजुङ्की समीक्षा योञ्जन, उनका छोरा सुदीप घिसिङ, मादीका श्याम शेर्पा, आईतबहादुर तामाङ, तेह्रथुमका चालक विपिन निरौला र मादीका सहचालक उमेश भट्टराईको मृत्यु भएको डीएसपी सुवेदीले बताउनुभयो । 

घाइते डम्बरबहादुर कार्कर्ी, करिश्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । 

मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको यात्रु बस मादी नगरपालिका–६ को पुलुस्थित सात घुम्तीमा बिहीबार बिहान पौने ८ बजेतिर दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बसमा १९ जना यात्रु थिए । प्रहरीका अनुसार बस सडकबाट करीब ३ सय मिटर तल खसेको थियो । 


प्रतिक्रिया