प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

असार ८, २०८२ | काठमाडौं
प्रतिनिधिसभामा विभिन्न ५ मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि आज पनि छलफल हुँदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा जेष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका लागि विनियोजित शीर्षकमाथि आज छलफल हुने कार्यसूची रहेको छ ।
शनिबारसम्म प्रतिनिधि सभामा १० वटा मन्त्रालयगत बजेट माथिको छलफल सकिएको छ । यस्तै, सांसदहरुले राखेका खर्च कटौतीको प्रस्ताव समेत पेस हुने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।