सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण २३, २०७९

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्न सत्ता गठवन्धनद्धारा गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ । आगामी मंसिर ४ गते तोकिएको निर्वाचनमा सिट बाडँफाँटको मोडालिटी तय गर्न कार्यदलको बैठक बस्न लागेको हो । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनमा चुनावी तालमेल र सिट बाडँफाँटबारे छलफल सुरु गरिने कार्यदलका सदस्य एवम् एकिकृत समाजवादीका महासचिव डा. बेदुराम भुषालले जानकारी दिनुभयो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गत शुक्रबार बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाडँफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सत्ता गठवन्धन दलले प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा सिट बाँडफाँट गर्न लागेका हुन् । गठवन्धनमा रहेका दलले यसअघि जितेका निर्वाचन क्षेत्र र एमालेले जितेका निर्वाचन क्षेत्रलाई मध्यनजर गर्दै सिट बाँडफाँट गर्ने तयारी गरेको बताइएको छ ।


प्रतिक्रिया