राष्ट्रपति पदका लागि फागुन २५ गते निर्वाचन हुने

माघ १६, २०७९

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेको छ । आयोगको आज बसेको बैठकले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राष्ट्रपतिको पदावधि आगामी फागुन २८ गते सकिदैछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ अनुसार राष्ट्रपतिको पदावधि हुनु एक महिनाअघि नै निर्वाचन भइसक्नु पर्ने हुन्छ । आयोगले अघि सरकारसँग भएको छलफलका आधारमा मिति निधारण गरेको प्रवक्ता शर्मा पौडेलले जानकारी दिनुभयो । संविधान र ऐन बाझिएकाले निर्वाचनको मिति तय गर्ने विषयमा निर्वाचन आयोग अनिर्णित थियो ।

संविधानमा राष्ट्रपति निर्वाचित समयमै हुन नसकेको अवस्थामा अर्को राष्ट्रपति निर्वाचित नहुञ्जेलसम्म वर्तमान राष्ट्रपति नै कायमै रहने व्यवस्थाले प्रतिपक्ष दल नेपाली कांग्रेस पछिल्लो समय ससंकीत थियो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने माग गर्दै दलहरुले आयोगको ध्यानाकर्षण गराउदै आएका थिए । राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । अहिले कुनैपनि दलको स्पष्ट बहुमत नभएकाले राष्ट्रपति को बन्छ भन्ने विषय अहिले पेचिलो बन्दै गएको छ । आयोगले आजै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । 


प्रतिक्रिया