प्रतिनिधीसभाको बैठक बस्दै

चैत्र ५, २०७९ | काठमाडौं

प्रतिनिधीसभाको बैठक आज बस्दैछ । बानेश्वरस्थित संघीय संसद भवनमा दिउसो १ बजेपछि बस्ने बैठकमा आज बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संशोधनकालागि पेश हुँदैछ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले सो विधेयकको तेश्रो संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । सोही विधेयकमाथि सांसदलाई ज्ञान बहादुर शाही र प्रेम सुवालले पेश गर्नुभएको विरोधको सूचनाहरु समेत आज निर्णयार्थ पेश हुने कार्यसूची छ ।

यसअघि सत्ता साझेदार १० दलको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको थियो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हिजो बसेको शीर्ष नेताहरुको बैठकले संसदमा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपक्ता व्यत्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो ।

यसैगरी आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत पेश हुँदैछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले सो प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख गरेको छ ।

यसैबीच सरकारले ल्याउन लागेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा उल्लेखित प्रावधानबाट पीडितले न्याय पाउनेमा आशंका उब्जाएको बताएको छ । वास्तविक पीडितले न्याय पाउनुपर्ने पक्षमा एमाले रहेपनि कतिपय प्रावधान पीडितको पक्षमा नरहेको बताउनुभयो । यद्यपि संसदमा हुने छलफलका आधारमा आफुहरुअघि बढ्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।  


प्रतिक्रिया