प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रिया शुरु

चैत्र ६, २०७९ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया शुरु भएको छ ।

प्रधानमन्त्री दाहालले संसद बैठकमा धारणा राख्दै आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्नुभएको छ । उहाँले विश्वासको मतका लागि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले बोलेपछि अहिले विश्वासको मत दिने प्रस्तावमाथि विभिन्न दलका नेताहरुले धारणा राखिरहेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यसबेला संसदमा उपस्थित २ सय ७० मध्ये २ सय ६८ मत दाहालको पक्षमा खसेको थियो ।

तत्कालिन सत्ता गठबन्धनको नेकपा एमाले, राप्रपा सहित नेपाली कंग्रेस र एकिकृत समाजवादीले पनि दाहाललाई विश्वासको मत दिएका थिए । राष्ट्रपतिको निर्वाचन ताका सत्ता समिकरण फेरिएपछि एमाले र राप्रपाले सरकार माथिको समर्थन फिर्ता लिएर बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुन विश्वासको मत लिन लाग्नुभएको हो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ । विश्वासको मतका लागी प्रधानमन्त्री दाहाललाई कम्तिमा १ सय ३८ मत प्राप्त गर्नुपर्नेछ । 


प्रतिक्रिया