प्रधानमन्त्री दाहालले दोस्रो पटक पाए विश्वासको मत

चैत्र ६, २०७९ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाउनु भएको छ । गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बन्नु भएका दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिनु भएको हो । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा ’मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । 

एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रहृयो ।


प्रतिक्रिया