नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार कसुरमा मुद्धा दायर

जेष्ठ १०, २०८० | ललितपुर

नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पूर्व मन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन गरी सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी छन् । त्यस्तै रामशरण केसी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई विरुद्ध मुद्धा दायर भएको छ । शरणार्थी प्रकरणमा दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापाविरुद्ध समेत मुद्धा दायर भएको छ ।

यसैबीच नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी मुख्य आरोपीहरूले गरेका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको हो ।


प्रतिक्रिया