पूर्वसांसद चौधरीको बाँकी कैद सजाय माफी गर्ने सरकारको तयारी

जेष्ठ ११, २०८० | काठमाडौं

सरकारले टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने प्रक्रियाअघि सारेको छ । सजाय माफीका लागि भन्दै लेखिएको निवेदन गृहमन्त्रालय हुँदै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । दोषी ठहर भएका चौधरीको बाँकी सजाय माफी दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग संविधान र कानुन बमोजिम चौधरीलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल गरेको बताइएको छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पूर्व सांसद चौधरीको बाँकी सजाय माफी दिन माग गरिएको निवेदन राष्ट्रपति कार्यालयमा आएको जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयको सल्लाहपछि मात्र गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने कुँवरले बताउनुभयो । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेको खण्डमा राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय लिन सक्ने कानुनी प्रावधान छ । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा चौधरी दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका छन् । चौधरीको श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले यसअघि जन्मकैदको फैसला भएपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरेको थियो । 


प्रतिक्रिया