प्रतिनिधिसभाको अवरोध अन्त्य, माओवादी केन्द्रका सांसदको अभिव्यक्ति रेकर्डबाट हट्ने

जेष्ठ १३, २०८० | काठमाडौं

पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा सत्तारुढ माओवादी केन्द्रका सांसदले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी एमालेले गरेको अवरोध प्रमुख दलहरुको सहमतिपछि अन्त्य भएको छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जलहरीको विषयमा दिएको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हट्ने भएपछि संसदको अवरोध खुलेको हो । प्रतिपक्षी एमाले तथा सत्तारुढ माओवादी केन्द्र र कंग्रेसबीच भएको सहमति अनुसार सभामुख देवराज घिमिरेले सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

सांसद दाहालले एमाले नेतृत्वको तत्कालीन सरकारको पालामा पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार भएको अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिको विरोधमा एमालेले सदनमा अवरोध गरेको थियो । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरको जलहरी राख्ने बिषय पशुपति विकास कोषको जिम्मेवारीमा रहेकाले यस बिषयमा विपक्षी दलको नेतालाई जोड्न नहुने बताउनुभएको छ ।

संसदको अवरोध हटेपछि अहिले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले धारणा राखिरहेका छन् । सांसदहरुले राखेको धारणामा प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया शुरु हुँदैछ । नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी बर्षका लागि पर्सी जेठ १५ गते नयाँ बजेट ल्याउनेछ । 


प्रतिक्रिया