राहत वितरणमा एकरुपता नभएको भुकम्पपीडितको गुनासो

कार्तिक २२, २०८०

जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितले राहत वितरणमा एकरुपता नभएको गुनासो गरेका छन् । मापदण्ड बनाएर राहत वितरण नगर्दा लक्षित बर्गमा पुग्न नसकेको गुनासो भुकम्पीडितले गरेको हाम्रा सहकर्मी महेश केसीले जनाएका छन् । 

राहत वितरण र भुकम्पपीडितको अवस्था बुझ्न पुगेका कतिपय राजनीतिक दल , सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि आफ्नो प्रचारमा बढी प्राथमिकता दिएको स्थानीयको गुनासो छ । राहतका नाममा संकलन कार्य तीब्र भएपनि वितरणमा समस्या भएको छ । राहत संकलन र वितरण भइरहेपनि सम्बन्धित निकायले गुणस्तर र आवश्यकतामा ध्यान पुर्‍याउन सकेका छैनन् ।

यसैबीच भुकम्पपीडितहरु खुला आकाशमुनी बस्नुपर्दा संक्रामक रोगहरुको जोखिम बढेको छ । झाडापखाला, हैजा, स्क्रवटाइफस लगायतका रोगको संक्रमण बढ्ने जोखिम रहेको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार हिजो मन्त्रालयले तीनजनाको टोली त्यसतर्फ पठाइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट तीनजनाको टोली भुकम्प प्रभावित क्षेत्रमा पठाइसकिएको उहांले बताउनुभयो । भुकम्प प्रभावित क्षेत्रको अवस्था बुझेर सोही अनुसार स्वास्थ्यकर्मीहरु परिचालन गर्ने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया